असार १६, मोरङ । जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सि.आर.भी. कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक सिताराम घिमिरे घुस लिई भ्रष्टाचार गरेकोले विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।
उनले होटल व्यवसाय संचालनमा सहजिकरण गरी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग रु ४,०००/- (चार हजार) घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा उनले सेवाग्राहीको चिया, खाजा तथा हल्का पेय पदार्थ मदिराको पसल सञ्चालन गर्न सहज गरी दिने भनी रु. ४,०००।– (चार हजार) घुस बापत लिएको पुष्टि हुन आएकोले उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिंदा उनलाई बिगो रु. ४,०००।– कायम गरी भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाउनु भयो ।