बैशाख १८, हेटौंडा । रक्सौलबाट तेल बोकेर काठमाडौं जाँदै गरेको टयाङ्करलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटेमा चेकजाँच गर्दा लागु औषध बरामद गरिएको जिल्ला प्रहरी मकवानपरका प्रमुख उपरिक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ट्याङ्कर चालक मकवानपुर थाहा नगरपालिका-४ घर भइ हेटौंडा ४ डेरा गरि बस्ने ३३ बर्षीय मान बहादुर थोकर र हेटौंडा ४ का ४५ बर्षीय सेते लामा रहेका छन्।भारतको रक्सौलबाट तेल बोकेर काठमाडौं जादै गरेको ना ३ ख ६४६६ नम्बरको टयाङ्करबाट लागु औषध बरामद भएको थियो।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाहाको टोलिले हेटौंडा १५ रातोमाटेमा जाचका क्रममा तेल निकाल्ने लकिङ्ग बक्समा लुकाएको अवस्थामा १५५ बोतल विनसिरेक्स बरामद गरेको हो।पक्राउ परेका उनिहरुलाई लागु औषध नियन्त्रण एेन अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुर बताएको छ ।

लकडाउनको अवधिमा यस अघि अत्यावश्यक भन्दै दुध बोकेको अटो र स्कुटरबाट घरेलु मदिरा बरामद गरेको छ। मकवानपुर प्रहरीले लकडाउनका समयमा लागु औषध कारोबार र ओसार प्रसार बढन सक्ने भन्दै लकडाउनमा गुडेका सवारीको चेकजाँचमा कडाइ गरेको छ।