पौष १४, सङ्खुवासभा। प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न सामग्री बरामद गरेको छ ।
प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो । चन्द समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेको हो ।
प्रहरीले लुकाएर राखेको सकेट बम चार थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याटसहितको फोटो, पाँच छ मोबाइलसहित ११ वटा सिम सार्वजनिक गरेको हो । त्यस्तै टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए।
आइतबार मैदानेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो । जिल्ला सेक्रेटरी कार्यकर्ताले प्रहरीको संयुक्त गस्ती टोलीलाई देख्नासाथ अन्धाधुन्ध फायर खोलेपछि दोहोरो भिडन्त भएको थियो । मैदाने भौगोलिकरूपमा विटकसँगै ताप्लेजुङ र तेह्रथुम जिल्लाको सिमाना नजिकै पर्दछ। भिडन्तका क्रममा प्रहरीले दुई राउन्ड र सशस्त्रले १५ राउन्ड गोली चलाएको थियो । चन्दका कार्यकर्ताले छ राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ ।