भदौ १४, रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा र नुवाकोटका बाढी पीडितको उद्धार र राहतमा भन्दा पनि प्रचारमा केन्द्रित रहेको आरोप लगाएका छन् । मानव अधिकार एलाइन्सले रामेछापमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गेलले बाँच्न पाउने अधिकार नागरिकको मानव अधिकारको आधारभूत विषय भएको भन्दै अहिले सरकारको उदासीनताले सो कुरा नै संकटमा परेको बताए । उद्धार र राहतको पर्खाइमा सर्वसाधारण रहेका भए पनि सरकारका मन्त्रीहरू हेलिकप्टरको सयरमा रहेका उनले बताए ।

‘सुरुङ भित्र मानिसहरू निसास्सिएर मरिसके तर सरकार उद्धार गर्न सक्दैन, सुरुङ भित्र कसरी जाने, कसरी उद्धार गर्ने भन्ने छैन, कसरी मिलाएर फोटो खिच्ने भन्ने छ’, उनले भने । सरकारका हरेक गतिविधि भ्रम सिर्जना गर्ने र कसरी स्ट्यण्डबाजी गर्ने भन्नेमा केन्द्रित रहेका उनले बताए । ‘सरकार बाटोमा आफैँ गाडी तेस्र्याउँछ, आफै उठाएर लैजान्छ, यस्तो स्टण्डबाजीबाट देश चल्दैन’, उनले भने ।
ढुङ्गेलले सरकारले आफैँ कानुन बनाउने तर आफैँ त्यसलाई नमान्ने गरेको उनको भनाइ छ । ‘ड्रेस लगाउनु पनि नपर्ने, कालो चश्मा लगाएर हिँड्दा हुने, यसैलाई वाहवाह गरिदिने ?’ उनले भने, ‘लोकतन्त्रको नम्स मान्नु पर्दैन ?’
ढुङ्गेलले सरकारले सुकम्बासीका बस्ती भत्काएर उनीहरूको बिजोग बनाएको बताए ।
‘डोजले घर भत्काएर बहादुरी हुन्छ र ! कहाँ गयो त्यो अभियान ? टुङ्गियो, सक्कियो ?’ उनले भने ।
एमाले अध्यक्ष केपी ओलीलाई भदौ २३, २४ को घटनाको दोषी ठह¥याउन १३ दिनसम्म थुनामा राखेको भए पनि सरकारले कुनै कुरा फेला पार्न नसकेको उनले बताए । ‘सस्तो लोकप्रियताको लागि जे पनि गर्ने ?’ उनले भने ।