पौष १४,कर्णाली। साविकको कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ । मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।
कालिकोट, जाजरकोट र रुकुमपश्चिमका उत्तरी भेगमा बसोबास गर्दै आएका नागरिकसमेत चिसोले प्रभावित बनेका छन् । जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ८।५ डिग्री सेल्सियसमा झरेको छ । जाडो बढे पनि साविकको कर्णालीका कुनै जिल्लामा वर्षा तथा हिमपात नभएको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुखले जानकारी दिए । चिसोले पानीका पाइप फुट्न थालेका छन् । घरमा राखिएका ग्यास सिलिण्डर पनि जम्न थालेको चन्दननाथ नगरपालिका–६ जुम्लाका स्थानीयले जानकारी दिए।
एकातिर चिसो, अर्कोतिर लोडसेडिङ
यतिबेला जुम्लामा एकातिर चरम जाडो छ त अर्कोतिर लोडसेडिङ भइरहेको छ । चिसो मौसमलाई न्यानो बनाउन विद्युत्को सहारा लिने अवस्था छैन । विद्युतीय हिटर प्रयोग गर्ने अवस्था छैन, बरु नेपाल विद्युत् प्राधिकरण जुम्लाले लोडसेडिङको कारण देखाउँदै हिटरलगायतका बढी विद्युत् तान्ने सामग्री प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गरेको छ । प्राधिकरण जुम्लाका कार्यालय प्रमुख गौरव पाण्डेका अनुसार २२० किलोवाट क्षमताको विद्युत् घटेर ११० किलोवाटमा झरेपछि लोडसेडिङको समस्या बढेको हो । कार्यालय प्रमुख पाण्डेले हाल करिब छ घण्टा जति मात्र विद्युत् आपूर्ति हुने गरेको बताए । उपभोक्ताले भने २४ घण्टामा २१ घण्टा जति लोडसेडिङ हुँदै आएको गुनासो पोखे ।
राष्ट्रिय प्रसारण लाइन नजोडिएसम्म जुम्लाको विद्युत्को समस्या समाधान नहुने प्राधिकरण प्रमुख पाण्डेले जिकिर गरे । यहाँको तत्कालको समस्या समाधानका लागि भने फाइल लिएर काठमाडौँ जान थालेको उनको भनाइ थियो । जाडोले सरकारी कार्यालय तथा गैरसरकारी संस्थामा काम गर्ने कर्मचारीलाई काम गर्न अप्ठ्यारो पर्दै गएको छ । वर्षा र हिमपात नभए पनि कर्मचारीले कार्यालयमै आगो बालेर दैनिक सेवा प्रवाह गरिरहेका छन् । यद्यपि कार्यालयमा रहेका मेसिनरी सामग्री फ्याक्स, प्रिन्टर पनि चिसोले जाम हुन थालेपछि कार्यालयको काम प्रभावित हुँदै गएको जनाइएको छ । यो समयमा विद्यालयमा पठनपाठन गर्ने बालबालिकालाई अझ बढी समस्या हुँदै गएको चन्दननाथ नमूना मावि खलङ्गा जुम्लाका प्रधानाध्यापकले जानकारी दिए ।