जेठ १६, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको छ। जसका प्रभावले देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ भने राती देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाले देशको केहि भू-भागहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ ।