आकाशबाट तारा खसेको
मैले देखेकोछु,
प्रकाश छाड्दै गरेको
पटक पटक धर्तीमा
जगतको कल्याण खातिर
म पनि वलिदान हुन सक्छु भनेर ।
मूलबाट पानी बगेको
मैले देखेकोछु ,
एकोहोरो गोहो बनाउँदै
तलैतिर झरेको
परिचय खुलाउन समुन्द्रतिर
म पनि तिमी जतिकै गहिराइमा पुग्न सक्छु भनेर ।
कालो बादल मडारिदै छुत्तिखेलेको
मैले देखेकोछु,
तलतिर वर्षँदै गरेको
तिम्रो र मेरो नाता एउटै हो
मौसमले फेरेको हो सम्बन्ध
जीवन धान्ने काममा लागेकोछु भनेर ।
पाकेको फल वृक्षबाट खसेको
मैले देखेकोछु,
तल जमिनतिर आएको
तम्सिएकोछु भाग लाग्न
आफ्नो अस्तित्व मेट्दै
अरूकै क्षुधा शान्त गराउने अठोटछ भनेर ।
मेरो प्रिय आदर्शले शिर निहुराएको
मैले देखेकोछु,
तल तल भन्दै पाइलाहरूलाई
जागा भई फरेली खेल्दैगरेको
भूईँमान्छहरूका फाँदमा
फेरि एकपटकलाई माफ देउँ भनेर ।