असोज १०, रौतहट। रौतहटको लालबकैया नदीमा हाम फालेर बेपत्ता भएका बाराका एक युवकको २७ घन्टापछि शव फेला परेको छ। बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादवको शव शनिबार अपराह्न करिब ४ बजे फेला परेको हो। प्रहरीका अनुसार मौलापुर नगरपालिका–४ स्थित घटनास्थलबाट करिब १०–१२ किलोमिटर तल फतुवा क्षेत्रको लालबकैया नदी किनारमा शव फेला परेको हो।

यादव शुक्रबार दिउँसो करिब १ बजे मौलापुर–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेर बेपत्ता भएका थिए। उनी आफ्ना दाइ ३५ वर्षीय सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा उपचारका लागि कचोर्वाबाट गरुडा जाँदै थिए।
पुलमा पुगेपछि सचिन्द्रले मोटरसाइकल रोक्न लगाएर ओर्लिएका थिए। त्यसपछि अचानक नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए। प्रहरीका अनुसार सचिन्द्र मानसिक रूपमा अस्वस्थ रहेको बताइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसीको कमान्डमा प्रहरी टोली तथा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट इन्स्पेक्टर दिलबहादुर नेपालीको कमान्डमा गोताखोरसहितको टोली खोजीमा परिचालन भएको थियो।
लालबकैया नदीमा पानीको तीव्र बहाव र गहिराइका कारण खोजीमा कठिनाइ भएको थियो। त्यसका बाबजुद सुरक्षा टोलीले शुक्रबारदेखि नै निरन्तर खोजी जारी राखेको थियो।
शनिबार अपराह्न खोजीका क्रममा फतुवा क्षेत्रस्थित नदी किनारमा सचिन्द्रको शव फेला परेको प्रहरीले जनाएको छ।
शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ।