• २०८३ बैशाख १९ गते शनिवार

ओली समूहले खोस्यो दाहालको कार्यकारी अधिकार

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष १०, काठमाडौं । विभाजित अवस्थामा पुगेको नेकपाका दुवै समूहको बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले फरक फरक निर्णय गरेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली समूहको बालुवाटारमा बसेको बैठकले आगामी वैशाखमा तोकिएको निर्वाचनलाई पूर्ण रूपमा सफल बनाउने गरी आफ्ना सबै जनवर्गीय संगठन र कमिटीलाई निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ । तर पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको बैठकले भने प्रतिनिधिसभा विघटन र निर्वाचनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको बिहीबार बालुवाटारमा बसेको सो बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्यकारी अधिकार बदर गर्ने निर्णयसमेत गरेको छ । दाहालले केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार पार्टीलाई चलायमान बनाउन नसकेको भन्दै केन्द्रीय कमिटीले उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । तर दाहालको अन्य जिम्मेवारी भने यथावत् नै राखिएको छ ।

‘उहाँ (दाहाल)लाई अध्यक्षबाट हटाइएको छैन तर केन्द्रीय कमिटी र स्थायी कमिटीले दिएको जिम्मेवारी बहन गर्न नसकेकाले उहाँको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरिएको छ,’ बैठकमा सहभागी एक नेताले बताए । बैठकले विभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको छ । बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गत ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई पार्टीका केही नेताबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी तथा षड्यन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको बाध्यात्मक कदमका रूमा चित्रण गरेको छ ।

बैठकले बहुमतप्राप्त दलको निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयको छिनोफानो जनताको अभिमतबाट खोज्नु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको ठहरसमेत गरेको छ । ओली समूहको बैठकले जनजीविकाका विभिन्न सवालमा समेत निर्णय गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस