• २०८३ भाद्र १३ गते शनिवार

विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ११, काठमाडौं । काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वरस्थित सडकबाट २ सय ५० ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका(३ बसुन्धारा बस्ने नवलपरासी(पश्चिम)मध्यबिन्दु नगरपालिका-८ घर भएका २१ वर्षीय सौरभ लम्साललाई गत बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त ब्राउनसुगर काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वर बस्ने मोरङ उर्लाबारी नगरपालिका-२ घर भएका ३३ वर्षीय संगम तामाङबाट खरिद गरी ल्याएको खुल्न आएपछि सोही महानगरपालिका-३० ज्ञानेश्वरबाट बा.७० प २४९२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका तामाङलाई समेत २७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब २ किलो अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ दोरङ गाउँपालिका-१ बस्ने २३ वर्षीय सुमन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धादिङ्बाट काठमाडौंतर्फ आउँदै गरेको बा।३ ख १५९५ नम्बरको बसलाई जाँच गर्ने क्रममा सोही ठाउँस्थित नागढुङ्गा चेक प्वाइन्ट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजाको धुलो सहित पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१४ सातदोबाटो सोभाहिटी चोकबाट करिब २ सय ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु र नगद १ लाख ५५ हजार रुपैयाँ सहित सोही महानगरपालिका बस्ने गोरखा भिमसेन थापा गाउँपालिका-७ घर भएका २८ वर्षीय गणेश अधिकारी लगायत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बा।१० च ३३०९ नम्बरको गाडीमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी गाडीका चालक समेत ३ जनालाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-३२ मझुवाबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गोरखा गण्डकी गाउँपालिका-७ घ्यालचोक बस्ने २६ वर्षीय मनोज रोक्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १२९ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस