भदौ ९,म्याग्दी । म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु र स्क्रबटाइफस भएको हो । उनीहरु बाहिरबाट नआएर स्थानीयस्तरमै खेती किसानी र व्यापार व्यवसाय गर्ने व्यक्ति हुन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यस वर्ष ३७ जना डेङ्गु र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन् । गत वर्ष १३ जना डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो ।

मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनि पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ ।नेपालमा गत वर्ष केही डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो । पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने, शरीरमा बिमिरा आउने एवं हाडजोर्नी तथा मांसपेशी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् ।