भदौ २, भक्तपुर । नेपाल रेडक्रस सोसाइटीका लागि जग्गा खरिद गर्दा अनियमितता तथा ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदन अनुसार भक्तपुरमा गोदाम घर सञ्चालनका लागि जग्गा खरिद गर्ने क्रममा बोलपत्रको सर्तविपरीत बिचौलियामार्फत कारोबार गरिएको खुलेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

२०७३ भदौ २२ गते प्रकाशित सूचनाअनुसार भक्तपुर–४ मा रहेका विभिन्न कित्ता नम्बरको कुल ५ रोपनी १३ आना ३ पैसा क्षेत्रफलको जग्गा खरिद गर्दा रेडक्रसले ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो। त्यस रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको अनुसन्धानबाट खुलेको जनाइएको छ ।
नापी कार्यालय भक्तपुरबाट जग्गाको क्षेत्रफल यकिन गराउँदा कागजमा उल्लेख भएभन्दा कम अर्थात् ५ रोपनी ६ आना २ पैसा १ दाम मात्र क्षेत्रफल रहेकोसमेत खुलेको छ । बोलपत्रको सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरी रेडक्रसलाई आर्थिक नोक्सानी पुर्याएको आरोपमा अनुसन्धान अघि बढाइएको हो ।
भक्तपुर जिल्ला अदालतबाट पक्राउ गरी अनुसन्धान गर्न अनुमति लिएपछि संलग्न पदाधिकारी, कर्मचारी तथा बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि–३ का राजेश देशमरु, काठमाडौँ–२६ बस्ने उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण–५ का मदनकृष्ण फोजु, मध्यपुर थिमि–१ का सञ्जीव थापा र काठमाडौँ–१६ बालाजुका इन्द्रबहादुर केसी रहेका छन् ।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । प्रहरीले रेडक्रसको मानवीय सेवाको उद्देश्यविपरीत संस्थालाई आर्थिक क्षति पुर्याउने गरी भएको भनिएको जग्गा खरिदसम्बन्धी कारोबारको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।