असोज ५, काठमाडौँ । काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल थालेको हो । फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिक्षा शुःल्कको विषयमा विभिन्न नगर र महानगरपालिकाका प्रमुख एवं उपप्रमुखसँग छलफल शुरु गरेको जानकारी दिनुभयो । केही दिन अनलाइनमाध्याम वा भौतिक दूरी कायम गरेर प्रत्यक्ष भेटघाट गरी छलफल शुरु गरिएको र सबैको रायका आधारमा फोरमले शुःल्क निर्धारणका लागि आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्ने उहाँले जानकारी दिनुभयो ।

दिनदिनै बढ्दो क्रममा रहेको कोभिड–१९ ले उपत्यकालाई नराम्ररी प्रभावित बनाइरहेको सन्दर्भमा त्यसको नियन्त्रणका उपाएबारे समेत छलफल जारी रहेको फोरमले जनाएको छ । सार्वजनिक सवारी साधानलाई तत्कालै सञ्चालन गर्न नहुने पक्षमा फोरम रहेको थियो । पछिल्लो समयमा मुलुकभर देखिएको सङ्क्रमितमध्ये आधा उपत्यकाका छन् । यसअघि फोरमको सक्रियतामा उपत्यकाको समुदायमा सङ्क्रमण दर कस्तो छ भनेर अध्ययन भएको थियो । त्यसमा १० हजार सङ्क्रमित देखिएमा समुदायमा प्रवेश गरेको निष्कर्ष निकाली नियन्त्रणका आवश्यक योजना निर्माण गर्ने तयारीका साथ गरिएको परीक्षणको नतिजाले अनुमान गरिए भन्दा न्युन सङ्क्रमित भेटिएका थिए ।