• २०८३ जेष्ठ २ गते शनिवार

भत्ता लिने पोसाक नलगाउने : निजामती कर्मचारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर ४, काठमाडौँ । केन्द्रीय सचिवालय सिंहदरबारमा नै कतिपय निजामती कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक लगाउँदैनन् । सरकारले कर्मचारीलाई पोसाक भत्ता वार्षिक १० हजार रुपियाँ प्रदान गर्दै आए पनि कतिपय कर्मचारीले तोकिएको पोसाक नलगाई कार्यालयमा काम गर्ने गरेको पाइएको छ ।

कोरोनाको बहाना बनाएर कर्मचारी पोसाक नलगाई कार्यालयमा आउने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अधिकांश कर्मचारीले कोरोनाको बहानामा देशकै केन्द्रीय प्रशासन कार्यालय सिंहदरबारमा नै तोकिएको पोसाक नलगाई कार्यालय आउने गरेको बताउनुभयो ।

सिंहदरबार भित्रका कार्यालय मात्र नभई अधिकांश कार्यालयमा कार्यरत निजामती कर्मचारीले तोकिएको पोसाक नलगाई काम गर्ने गरेको उहाँ बताउनुुहुन्छ । पहिला प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीले पोसाक लगाएका छन् कि छैनन् भन्ने छड्के गर्ने गरिन्थ्यो, अहिले त्यो पनि कोरोनाकै बहानामा अनुगमन गर्ने गरिएको छैन ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नयाँ सचिवको रूपमा एकनारायण अर्याल आइसकेपछि मन्त्रालयभित्र कार्यरत कर्मचारीलाई पोसाक अनिवार्य गर्न निर्देशन गरिएको छ । मन्त्रालयमा कार्यरत कर्मचारी मात्र नभई मन्त्रालयमा विभिन्न कामका लागि आउने कर्मचारीलाई समेत पोसाक अनिवार्य लगाउन निर्देशन दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस