कार्तिक १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवीबाट समृद्धितर्फ अगाडि बढ्न नसके हाम्रो जनशक्तिलाई समाजका हानिकारक तत्वले आफ्नो अनुचित स्वार्थ पूरा गर्न दुरुपयोग गर्ने खतरा रहने औंल्याउनुभएको छ ।

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस, २०२० को अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दै प्रधानमन्त्री ओलीले हाम्रो जनशक्तिलाई दक्षता तथा सीप पलायनबाट जोगाउँदै स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने फलदायी उद्यमशीलताको बाटोमा अग्रसर हुन सबैमा आह्वान गर्नुभयो । मुलुकलाई गरिवीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सार्थक उत्प्रेरणा यस दिवसले प्रदान गरोस् भन्ने शुभकामना दिनुभएको छ ।
समृद्धिका हरेक पहलकदमीमा अवरोध गर्दै गरिवीलाई आफ्नो अनुचित स्वार्थ सिद्ध गर्ने साधनका रुपमा सधैं दुरुपयोग गर्ने प्रवृत्तिबाट समाजलाई बचाउन सबै सजग रहनु पर्ने उल्लेख गर्दै प्रम ओलीले अहिले हामी रोजगारी र शिक्षाको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र ब्यवसायको अवसर सिर्जना गर्न अग्रसर रहेको बताउनुभयो । ‘कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारहरुको पंक्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा छौं । यस अग्रसरताले नेपाललाई अविकासबाट विकासतिर र पछौटेपनबाट समृद्धितिर, गरिवीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजाने छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘गरिबी निवारण तथा दीगो विकासका लागि योगदान पु¥याउने सम्बन्धित सबै सरकारी निकायहरु, सहकारी क्षेत्र, निजी क्षेत्र, गैर सरकारी संस्थाहरु, नागरिक समाज र विकास साझेदारहरुप्रति धन्यवाद ज्ञापन गर्दछु । कोभिड–१९ को विषम परिस्थिति सामना गर्दै मुलुकलाई गरिवीबाट समृद्धितर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजूट भएर अघि बढ्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु ।’