पौष, २७ भक्तपुर । भक्तपुर नगरपालिका-१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चार जना घाइते भएका छन् ।

शनिबार दिउँसो जाजरकोटको नलगाढ नगरपालिका-१का २० वर्षीय राम बहादुर वि.क.ले खुर्पा प्रहार गरी ओखलढुंगाको चम्पादेवी गाउँपालिका-१० घर भई हाल भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा, भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ४५ वर्षीया राजमती ज्याकिबन्जार तथा महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हवल्दार जितेन्द्र प्रसाद यादव र प्रहरी जवान टोल बहादुर श्रेष्ठ घाइते भएका हुन् ।
पाइपलाईनमा दुई महिलालाई खुर्पा प्रहार गरी घाइते बनाइएको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटि गई भाग्दै गरेको अवस्थामा वि.क. लाई दोकोचामा प्रहरीले नियन्त्रणमा लिने क्रममा बा २ झ १८५ नम्बरको प्रहरीको सिआरभी गाडीमा समेत क्षती पुगी दुई प्रहरीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते थापाको मध्यपुर अस्पतालबाट थप उपचारको लागी छाउनी स्थित नेपाली सेनाको अस्पतालमा रिफर गरी उपचार भईरहेको छ भने ज्याकिबन्जारको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । वि.क.को प्रहारबाट प्रहरीको गाडीको अगाडिको सिसा फुटेको र सञ्चार बेश सेटमा समेत क्षती पुगेको प्रहरीले जनाएको छ ।
वि.क.लाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।