• २०८३ बैशाख ९ गते बुधवार

पार्टी जोगाउन मिलेर अघि बढ्न ओलीको प्रस्ताव

ओली–नेपाल सघन छलफलमा
पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

कात्तिक २४, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटबाट जोगाउन सहकार्य गरेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्ताव गरेका छन् । ओली र नेपालको सम्बन्ध चिसिँदै आइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले नै सम्बन्ध सुधारेर अघि बढ्न प्रस्ताव गरेका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको मतभेद बढिरहेको समयमा प्रधानमन्त्री ओलीले पार्टीभित्र बहुमत जुटाउन वरिष्ठ नेता नेपालसँग सहकार्यको प्रस्ताव गरेका हुन् ।

ओलीले सहकार्यका लागि नेपाललाई प्रस्ताव गरे पनि सहमति हुन सकिरहेको छैन । अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसँग भेटेर शनिबार लिखित रूपमै सचिवालय बैठक बस्नुपर्ने आग्रह गरेको भोलिपल्ट ९आइतबार० ओली र नेपालबीच छलफल भएको छ । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच तीन घण्टा लामो छलफल भएको छ । छलफलका लागि ओलीले नेपाललाई एक्लै बोलाए पनि उनी आफू निकटका स्थायी कमिटी सदस्यत्रय भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई सँगै लिएर बालुवाटार पुगेका थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता नेपालाई मिलेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका हुन् । पार्टी एकताका बाँकी काम टुंगो लगाउने, पार्टी र सरकार सञ्चालनका साथै हाल देखिएको विवाद समाधानका लागि मिलेर अगाडि बढ्नुको विकल्प नभएको ओलीको भनाइ थियो ।

छलफलको सुरुवात प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोस बढेर गएको अनुभव सुनाउँदै गरेका थिए । पहिलेको तुलनामा अहिले आफ्नो स्वास्थ्य राम्रो हुँदै गएको र सेता दारीसमेत कालो हुँदै जान थालेकाले जोस र उमंग अझै बढेको बताएका थिए । ‘पार्टीभित्र देखिएको विवाद समाधानका लागि मिलेर अगाडि बढौं,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अपरेसनपछि झनै जोस बढेको छ, फुलेका जुँगा कालो हुन थालेको छ ।’वरिष्ठ नेता नेपालले फराकिलो सोच बनाएर नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । पार्टी र सरकार सञ्चालन विधि, प्रक्रिया, पद्धति एवं विधानअनुसार हुनुपर्नेमा जोड दिँदै आएका नेता नेपालले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने सुझाव दिएको छलफलमा सहभागी एक नेताले बताए ।

‘सिंगो देश र पार्टीको नेतृत्व गर्ने व्यक्तिले मसिना कुरामा अलमलिनुभएन,’ नेपालको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘तपाईं सबैलाई मिलाएर अगाडि बढ्नुस्, सबैका कुरा सुन्नुस् । कसले के भन्छ भन्नेतिर ध्यान नदिनुहोस् ।’

पार्टी एकताका धेरै काम टुंगो लगाउँन बाँकी नै रहेकाले ठोस प्रस्तावसहित एकताका बाँकी काम पूरा गर्नुपर्ने सुझावसमेत उनले दिए । साथै पार्टीभित्र हाल देखिएको विवाद समाधान गर्दै बैठकमा छलफल गरी निकास खोज्नुपर्ने आवश्यकता नेपालले औंल्याएका थिए । शनिबार अध्यक्ष दाहालसँगै पुगेका नेपालसहितका नेताका बीचमा घोचपेच शैलीमा संवाद भएपछि पार्टीको बैठक अनिश्चित बन्दै आएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक पटक छलफल भए पनि ओली र नेपालबीच त्यति छलफल हुने गरेको छैन । तर, ओली र दाहालबीच मतभेद सुरु भएपछि ओलीले सहकार्यका लागि नेपालसँग संवाद सुरु गरेका हुन् । पार्टीभित्र देखिएको विवादमा दाहाल र नेपाल समूह एकै ठाउँमा उभिँदै आएका छन् ।

यसअघि ओली र नेपालका बीचमा ५ र ११ कात्तिकमा छलफल भएको थियो । त्यसभन्दा अघि ९ साउनमा भेटघाट भएको थियो । यसअघि प्रधानमन्त्री ओलीको सचिवालयमा रहेका सल्लाहकारसहितको एक टोलीले नेता प्रदीप नेपालसँग भेटघाट गर्दै माधव नेपालसँग सहकार्यका लागि पहल गरिदिन आग्रह गरेका थिए । नेकपाभित्र स्थायी र सचिवालय कमिटीको निर्णय कार्यान्वयन, मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, कर्णाली प्रदेश, पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटघाटलगायतका विषयमा अध्यक्षद्वय ओली र दाहालबीच मतभेद हुँदा विवाद चर्किँदै आएको छ ।

नेकपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला गुटगत भेला, बैठक तथा छलफल बढ्दै गइरहेको छ । अध्यक्षद्वय ओली र दाहालसहितका नेताहरू यस्ता कार्यक्रममा सक्रिय रूपमा सहभागी भइरहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस