• २०८३ असोज १३ गते मङ्गलवार

पर्देशीको सन्देश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

छितिजको संघारबाट
उनले पठाएको कोसेली
एक पटक मेरो माथिङ्गलमा स्पर्श गरेर
उनकै देशतिर लाग्छ
यस पालिको दसैँ पनि रित्तै बित्ने भो
छोराको काने टोपी र छोरीको बुट्टे जामा
अर्को सालको दसैँका लागि
थाती राख भन्दै
बिर्खे साहुको दसैँमा तिर्ने ॠणको भाखा
एक बर्षको लागि पर सार भन्दै
डम्बरकुमारीको दोकानको उधारो
अर्को सालसम्मलाई काएम गर भन्दै
मलाई स्मरण गराउन आएको पबन
पोल्टाभरी समस्याको बीउ छरेर
जान्छ बिदेशी मायालुलाई
खबर पुर्याइदिएको खबर सुनाउन ।।

राबणसँग युद्द जितेर
हरायकी सीता लियर
कैयौं रामहरु घर फर्किसके
कैयौं राधा र उर्मिलाहारुले
प्रीयतमको आगमनमा
उल्लासका मालाहरु गाँसिसके
कैयौं नाग र नागिनीहरुको
अपुर्ब मिलन भैसक्यो
घर अगाडिको पीपलको रुखमा
गुँड लगायर बसेकी चखेबीको
चखेबापनि हिजो घर फर्कियो
मलाई मात्र पबनको पोल्टामा
के कोसेली पठाइदियौ ए निस्ठुरी ।।

छोराको बाटो हेर्दाहेर्दै
आँखा देख्न छोडेका बुढाबालाई
छोरो बिदेशबाट आए पछि चोलो फेर्छु भन्दै
नाङ्गै बसेकी बुढी आमालाई
मैले के सन्देश सुनाउने
मकाएर भाँचीन लागेका
थाम र दलिनको अबस्था देखेर
घरको छानो र गारो तिम्रो प्रतीक्षामा छ्न
अब त मखमली र सयपत्री पनि
फुल्न बिर्सिएका जस्तै भएका छन्
सङ्घारमा चेलिबेटीको पाइला नपरेको
कैयौं बर्ष भैसक्यो
तिहारमा धुप र सलेदो नमग्मगाएको
कैयौं बर्ष भैसक्यो
अब त कोइलीको आवाज पनि
बिरहको धुन झैं लाग्छ ।।

ए पर्देशी
कति दिन हेरुँ अब
पबनका सर्सराहटमा
तिम्रा सन्देशका पोकाहरु
कति चिहाउँ सधैं
छितिज किनारमा सजिएको
तिम्रो आवरणिय विम्ब ।।

Sharing

प्रतिक्रिया दिनुहोस