पुस १३, कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका– १२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीको हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । गत कात्तिक १ गते तस्करी विरूद्ध डिउटीमा खटिएका २ जना प्रहरीको हत्या भएको थियो ।
उक्त घटनाका मुख्य आरोपीलाई कैलाली प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार उनी धनगढी उपमहानगरपालिका– १० कै स्थानीय हुन् । उनी तस्करीमा संलग्न रहेको र उक्त हत्याकाण्डका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । नेपालबाट भारत र भारतबाट नेपालमा आउने सामान तस्करीमा उनको संलग्नता रहेको प्रहरी कार्यालय कैलालीको प्रमुख प्रहरी उपरीक्षकले बताए । त्यस दिन पनि तस्करीको ट्रान्जिट मानिने जुगेडा क्षेत्रमा प्रहरीसँग तस्करहरुको गिरोहको झडप भएको र घरलु हतियारले प्रयोग गरी प्रहरीको हत्या गरेको कैलाली प्रहरीको निष्कर्ष छ ।