मुक्तक
सकियो कि लगानी कहाँ सम्म पुग्यो ?
हजुरको मनोमानी कहाँ सम्म पुग्यो?
चाइनाबाट रेल कैले आउँछ सरकार ?
मेलम्चीको पानी कहाँ सम्म पुग्यो ?
बनाउन जिन्दगी सरल के गर्ने होला?
सकियो पाखुरामा बल के गर्ने होला?
मेहनत गरेँ, मजदुरी गरेँ, के के गरिन
कसैगरि भइन सफल के गर्ने होला?
बनेर नभए अब बुद्ध हिटलर पनि बन्नु पर्छ
भष्ट्रचारी नेता विरुद्ध हिटलर पनि बन्नु पर्छ
देश बेच्न दिनु हुन्न भ्रष्टाचारी दलालहरुलाई
गर्नु पर्छ अन्तिम युद्ध हिटलर पनि बन्नु पर्छ!
छैनन् बुझिदिनेहरू कसलाई सुनाउनु?
नसुनाउनै ठिक छ बरु कसलाई सुनाउनु?
स्वयम आमाले नै छाउ गोठमा पठाए पछि
छाउ गोठको पीडा अरु कसलाई सुनाउनु
लाग्छ मरिने पो हो कि कति बाचुँला र ?
यस्तै सोच्छु आजभोली कति बाचुला र ?
हासिखुशि बाच्नु तिमि मलाई बिर्सिएर
म त परेँ दिलको रोगि कति बाचुँला र?
बोल्छ्न कडा कडा मन पर्दैन मलाई
सधैंभरी पर्छ झगडा मन पर्दैन मलाई
खुल्ला आकाशमा स्वतन्त्र उड्न चाहन्छु म
प्यार नामको पिंजडा मन पर्दैन मलाई।
अपराध हो जानी जानी घुस लिनु पर्छ
लाज सरम केहि नमानी घुस लिनु पर्छ
पढ्न लाग्यो पन्ध्र लाख तलब बिस हजार
उठाउनलाई त्यही लगानी घुस लिनु पर्छ।
नदेउ भो यस्तो सम्मान चाहिन्न हामीलाई
बनाउछौं हामि आफ्नै शान चाहिन्न हामिलाई
तेत्तिस प्रशेन्ट महिला आरक्षण भिख दिए झै भो
सरकार तिम्रो त्यस्तो बिधान चाहिन्न हामीलाई।
गल्ती भए मात्र एक शंका हुन सक्छ
दोष लगाई अनेकौंअनेक शंका हुन सक्छ
चोखो माया लगाउन त्यती सहज कहाँ छ र
पुगेन भने बुद्धि विवेक शंका हुन सक्छ।
नबदलिए सम्म पुरानो चलन,देश कसरी बन्छ?
केही छैन देशमा आयआर्जन,देश कसरी बन्छ?
युवाहरू फेसबुकमा काण्ड कै पछि लाग्छन्
सत्तामा दाँत झरेका बुढा छन्,देश कसरी बन्छ?
नसोचेरै इज्जत जाला गल्ती गरेकी हुँ
चिन्न नसकेर उस्को चाला गल्ती गरेकी हुँ
जुत्ताको माला बनाएर लगाउन पर्नेलाई
लगाउन खोजी बरमाला गल्ति गरेकी हुँ ।।
विदेशी लगानी संग प्यार,छैन हामिलाई
ठूलो धनी बन्न पनि हतार,छैन हामिलाई
यो एम सि सि तुरुन्तै खारेज गर सरकार
कसैको गुलाम बन्न स्वीकार छैन हामिलाई
तिम्लाई भुल्न सक्ने उपाय केही दिएन
बेकारमा मैले मनमा सजाएँ केही दिएन
चोखो मायाले त हाँस्न सिकाउछ भन्थे
तिम्रो मायाले आँसु सिवाय केही दिएन
नहुने भयो यो मन स्थिर कता जाउँ के गरूँ?
लाग्छ सधैं भविष्यको पीर कता जाउँ के गरूँ?
दायाँबायाँ कोहि छैन सहि बाटो देखाउँने नि
हिँडिरहेको बाटो छ,भिर कता जाउँ के गरूँ?
कतै भेटेँ भने एकफेर दुइ झापड हान्छु
दायाँबायाँ कहिँ नहेरेर दुइ झापड हान्छु
बिनागल्ती छोडेर जाने भुपुप्रेमिलाई
सिधै मुखमा थुकेर दुइ झापड हान्छु ।।
सकाएर पाएको अनुदान महल बनाए
बढाए आफ्नो पहिचान महल बनाए
जितेपछि के के न गर्छौं भन्थे नेताहरू
आफ्नै लागि आलिसान महल बनाए
भिन्न भिन्न अलौकिक भाषा बुझ्नु पर्छ
जान्नुपर्छ ठिन बेठिक भाषा बुझ्नु पर्छ
मुखले बोल्दा सब्ले थाहा पाउन सक्छ्न
प्रेममा त साङ्केतिक भाषा बुझ्नु पर्छ।
फरक फरक औकात कसरी भयो होला
यो सानो ठूलो जात कसरी भयो होला
कहिले कसरी भयो होला यो पृथ्वीको जन्म
अनि माया प्रेमको सुरुवात कसरी भयो होला
आफ्नै मनको भावना बुझ्न सकिन
भए पनि बुझ्ने चाहना बुझ्न सकिन
आज सम्म सयौं प्रेमिल किताब पढेँ
प्रेम बास्ना हो कि साधना बुझ्न सकिन
रोगि अनि असक्त कस्तो पोइ पर्यो
भु.पु मायाँकै भक्त कस्तो पोइ पर्यो
हे प्रभु यस्ता सङ्ग जुनि क्यारी काट्नु
लाग्छ खाली बिरक्त कस्तो पोइ पर्यो ।।
बन्न खोज्छ्न नजिक कुरो अर्कै हुन्छ
सत्य तथ्य प्रमाणिक कुरो अर्कै हुन्छ
मायाँ गर्छु तिमि बिना मर्छु म भन्छन
तर भित्री वास्तविक कुरो अर्कै हुन्छ ।।
बिग्रिए बिगार्न थाले अल्लारेको भर हुदैन
चढ्दो उमेर बैश वाले अल्लारेको भर हुदैन
माया लगाई चट्ट छोड्छन् मतलब गर्दैनन्
भन्न त भन्थे बा’ले अल्लारेको भर हुदैन ।।
मह पाएपछी घिउ छोडिदिन्छ्न अरे
लाग्छ झापड दिउँ छोडिदिन्छ्न अरे
आजकलका केटाको केहि भर हुन्न
बनाएर दुइ जिउ छोडिदिन्छ्न अरे ।।
देखेकी थिएँ सपना सुन्दर बर्बाद पारिदियो
लाग्दैन अब त कसैको भर बर्बाद पारिदियो
अनुभवी होला भनि इन्जिनियरलाई ठेक्का दिएँ
बिगारिदियो मायाको घर बर्बाद पारिदियो ।।
खल्लो लाग्यो कता कता कम भयो अरे
आमा बाबुको मायाँ ममता कम भयो अरे
आधा शरिर देखाएर डिस्को बार धाउँछे जो
उसैलाई नारी स्वत्रन्तता कम भयो अरे ।।
बन्ने भए जीवन साथी सम्पर्कमा आउनु
भनेकी हुँ नढाटी सम्पर्कमा आउनु
अन्तरजातीय विवाह गर्ने बिचारमा छु म
दलित अनि जनजाती सम्पर्कमा आउनु ।।
पीडा हुने हो कि? हर्ष केही थाहा छैन
विवाह गर्नु छ,यहि बर्ष केही थाहा छैन
के लेखेको होला खै यो मेरो भाग्यमा
कस्तो आउला निष्कर्ष केही थाहा छैन
महिना महिना बिमारी नभइदिए हुन्थ्यो
शरीरमा पीडाको भारी नभइदिए हुन्थ्यो
कि नभई दिए हुन्थ्यो पेट दुख्ने समस्या
कित यो महिनावारी नभइदिए हुन्थ्यो ।।
तोडिएपनी तोडियोस रित विवाह गर्ने छु
कुरा काटुन कि गाउन गीत विवाह गर्ने छु
तल्लो जात भन्दै कसैलाइ नहेप्नुस आमा
हजुरकै अघि रोजेर दलित विवाह गर्ने छु ।।
हुन थाल्यो दिलमा हलचल के भएको होला ?
गरौं न साथी बसेर छलफल के भएको होला ?
एक्लै एक्लै मुस्कुराउँछु कल्पनामा हराउँछु
बुझ्नै सकिन मलाई आजकल के भएको होला?