भदौ २१, काठमाडौँ । कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा जाजरकोट, नलगाड नगरपालिका २, छेप्कास्थित सडकबाट १० किलो अवैध लागुऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही नगरपालिका ३ का ४२ वर्षीय मनबहादुर बिष्ट र जुम्ला तातोपानी गाउँपालिका ५ का ५५ वर्षीय हरिचन्द्र डाँगी छन् ।

यस्तै रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका ५ जलिगार्डबाट १६ किलो अवैध लागुऔषध अफिमसहित जाजरकोट नलगाड नगरपालिका ९ का ३७ वर्षीय प्रेमबहादुर सिंहलगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) बाट खटिएको प्रहरीले उक्त अफिमसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।