बैशाख १३, कन्चनपुर । यातायात व्यवस्था कार्यालय, कन्चनपुरका तत्कालीन निमित्त कार्यालय प्रमुख लगायत तीनजनालाई भ्रष्टचार गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।
यातायात व्यवस्था कार्यालय, महेन्द्रनगर, कन्चनपुरले सञ्चालन गरेको मोटरसाइकल/स्कुटरको सवारीचालक अनुमतिपत्र प्राप्त गर्ने प्रयोजनका लागि सञ्चालित लिखित परीक्षामा ३२११ जना सम्मिलित भएको र प्रयोगात्मक परीक्षामा ३२६५ जना सहभागी भएकोमा मिति २०७२।०३।१६ गते देखि २०७२।०३।२६ गते सम्म सञ्चालन भएको प्रयोगात्मक परिक्षामा असफल भएका परीक्षार्थीहरूबाट ५ देखि १५ हजार रकम असुल गरी चालक अनुमतिपत्र दिइएको खुल्न आएको हो ।
विशेष उजुरीको आधारमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, कन्चनपुरका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष सिताराम खनाल, मेकानिकल इन्जिनियर एवं परीक्षा समितिका सदस्य योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एवं परीक्षा समितिका सदस्य बाबुकाजी गिरीले मोटरसाइकल/स्कुटरको सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित भएका ८ जना परीक्षार्थीहरूलाई पास गराई सवारी चालक अनुमतिपत्र दिएका हुन ।
आफूहरूलाई गैरकानूनी लाभ पुर्याउने बदनियतले परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको स प्रमाण पुष्टि हुन आएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको सजाय हुन मागदाबी लिई आरोप पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।