वैशाख ८, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका –४ घोडाघोडीमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
सामूहिक बलात्कारमा संलग्नको आरोप लागेका छ जनालाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ का केशव भनेर चिनिने राकेश गिरी,रुपेश चौधरी,लक्ष्मण रावल,हिमराज क्षेत्री,नरेन्द्र बिक र नवीन शाही रहेका छन् । घटना वैशाख १ गते बिहान भएको भएपनि शनिबारमात्रै जाहेरी परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
प्रहरी समक्ष मुद्दा परे लगतै घटनामा संग्लग्न छ जनालाई नियन्त्रणमा लिई सोधपुछ थालेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।
किशोरी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडीको जङ्गलमा राकेश गिरीको समूहले किशोरीलाई इन्जेक्सन लगाई सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक जोशीले बताए।
आज भर्खर मुद्दा दर्ता भएको छ, जाहेरीमा किटान गरिएका सात जना मध्ये छ जनालाई पक्राउ गरिसकेका छौ । अन्यलाई पनि चाडै नियन्त्रणमा लिन्छौ उनले भने ।
घटना लगतै पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछी नेपालगन्ज रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाडौमा उपचार भइरहेको जोशीले जानकारी दिए ।