कार्तिक ३, सुनसरी । सुनसरीको दुहबी नगरपालिका–२ दंगा नियन्त्रण प्रहरी गणको गेट अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने एक प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

कार्यालयको कामको सिलसिलामा स ७ प ७२३८ नम्बरको मोटरसाइकलमा जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ जाँदै गर्दा मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक उदयपुरको त्रियुगा नगरपालिका १३ घर भइ दंगा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत २८ वर्षीय प्रहरी जवान सुजन रेग्मीको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा पछाडि सवार रहेका मोरङको गोविन्दपुर १ घर भइ दंगा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत २८ वर्षीय जवान किरण कठैत गम्भीर घाइते छन् ।
उनीहरु सवार मोटरसाइकललाई विपरित दिशातर्फ जाँदै गरेको को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिएको प्रहरीको भनाइ छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैजनालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ ।