• २०८३ भाद्र १ गते सोमवार

प्रदेश नं. १ मा दलित पत्रकार संघको प्रदेश भेला हुने : भेलाको तयारी पूरा

पढ्न लाग्ने समय : २ मिनेट

पौष,३ धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको राजारानीमा हुन लागेको राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रदेश भेलाको तयारी पूरा भएको छ ।

शनिबार हुने प्रथम भेलामा प्रदेश नं. १ का १४ जिल्लाबाट पत्रकारिता गर्दै आएका दलित समुदायका झण्डै ८० जना पत्रकारहरु सहभागी हुँदैछन् । सो भेलामा प्रदेश नं. १ का दलित समुदायका सांसदहरु, जिल्ला समन्वय समितिका सभापतिहरु र गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरु समेत सहभागी बन्ने छन् ।

शनिबार धनकुटाको राजारानीमा प्रदेश नम्बर १ को प्रदेश भेला हुन लागेको हो । सो भेला सफल पार्न चौबिसे गाउँपालिकामा विभिन्न उपसमितिहरु बनाएको भेला व्यवस्थापन समितिका संयोजक नैन रुचालले बताए ।

देशभर छरिएर रहेका दलित समुदायका सञ्चारकर्मीहरुलाई संगठित गर्दै पेशागत हक, हित र अधिकार स्थापित गराउने उदेश्यले गत जेठ १८ मा गठन भएको सो संघले विभिन्न जिल्ला र प्रदेशको भेला गरिरहेको छ । यसैक्रममा प्रदेश नं. १ को झापा, सुनसरी र मोरङको जिल्ला भेला सम्पन्न भइसकेका छन् भने प्रदेश नं. ३, उपत्यका प्रदेश लगायत ११ वटा जिल्लामा जिल्ला भेला सम्पन्न भइसकेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष गोपाल बराइलीका अनुसार असोज २ गते मात्रै जिल्ला प्रशाषन कार्यालय काठमाडौंमा दर्ता भएको सो संघले ५० हजार राशीको टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार, ५० हजार राशीकै परशु–सवरी स्मृति पुरस्कार, २५ हजार राशी रहेको देवव्रत परियार स्मृति पुरस्कार र राममाया च्यामे लोक पुरस्कारको स्थापना गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस