मंसिर १, कैलाली । धनगढी विमानस्थल आइतबारदेखि १ महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ ।
मर्मतका लागि यसअघि १ महिना बन्द गरिएको विमानस्थल मर्मतको थाती काम पूरा गर्न पुनः बन्द गर्न लागिएको हो । विमानस्थल बन्द हुने भएपछि धनगढी–काठमाडौं–धनगढीका उडान प्रभावित हुने भएका छन् ।
धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले धावनमार्ग र पार्किङ्गस्थल निर्माणका लागि आइतबारबाट दिउँसो ३ बजेदेखि अर्को दिन बिहान ७ बजेसम्मका लागि एक महिनासम्म विमानस्थल बन्द रहने जानकारी दिए ।
दैनिक दुई उडान गर्दै आएको बुद्ध एयरले सो अवधिमा बिहान एउटा मात्रै उडान गर्ने यसका धनगढी प्रमुख बुद्धराम माझीले जानकारी दिए त्यस्तै, श्री एयरलाइन्सले दिउँसोको उडानमा केही फेरबदल गरिए पनि दैनिक दुई उडान हुने बताएको छ ।
एक वर्षको अवधि तोकेर धनगढी विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको ठेक्का सम्झौता भएको छ । करिब १८ करोडको लागतमा खड्का, कोशी, न्यौपाने जेभीले निर्माणको काम गरिरहेको धनगढी विमानस्थल प्रमुख बुढथापाले बताए । उनले निर्धारित समयमै धावनमार्ग निर्माणको काम सम्पन्न हुने दाबीसमेत गरे ।
धनगढी विमानस्थल त्रिभुवन विमानस्थलपछिको सबैभन्दा लामो धावनमार्ग भएको विमानस्थल हो । यसको धावनमार्ग ६० मिटर चौडा र १ हजार ८ सय मिटर लामो छ ।