मंसिर १, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका १० भुरचौरदेखि स्थानीय फेराखोलातर्फ जाँदै गरेको भे १ त ८२१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मंगलबार एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्रहरीका अनुसार भेरी नगरपालिका १० भुरचौरकी २७ वर्षीया गिता बुढाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक मधुकुमार थापाका अनुसार दुर्घटनामा भेरी नगरपालिका १० भुरचौरकी ४० वर्षीया जैकला बुढा, सोही ठाँउका २२ वर्षीय कालीदास राना, मृतक गिताकी छोरी १२ वर्षीया तुल्सी बुढा र सल्यान बनगाड कुपिण्डे दह २ बामे निवासी ३६ वर्षीया संगिता शर्मा घाइते भएका छन । जैकली र कालीदासको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
ट्याक्टर चालक भेरी नगरपालिका १० विराले बस्ने २२ वर्षीय राजेन्द्र राना फरार रहेको प्रहरीले जनाएको छ। पानी लिन जाने क्रममा मोडमा ट्याक्टर पल्टिएको थियो।