कात्तिक २७, काठमाडौं । नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘पैतालामा हिउँ, आँखामा हिमाल’ नियात्रासङ्ग्रह आज सार्वजनिक भएको छ । त्रिशूली वाङ्यमय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रमेशप्रसाद भट्टराईलगायत साहित्यकारहरूले सो कृतिको लोकार्पण गर्नुभएको हो ।

स्रष्टा एवंं पर्यटन व्यावसायी डङ्गोलले मुलुकका विभिन्न पर्यटकीय क्षेत्रमा यात्रामा क्रममा पाइएका सामाजिक, सांस्कृतिक र जनजीवनका पक्षहरूलाई समेटेर तयार पारेको सो कृतिले पथप्रदर्शकहरूलाई हाते पुस्तकको काम गर्ने समालोचकहरूले बताएका छन् । कृतिबारे साहित्यकारहरू डा दामोदर पुडासैनी ‘किशोर’, श्रीओम श्रेष्ठ ‘रोदन’, समीक्षक राम लोहनी, नेपाल ट्रेकिङ एजेन्सिस एसोसिएशन (टान) का अध्यक्ष खुमबहादुर सुवेदी, महासचिव सरिता लामा, प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोललगायतले नियात्रा लेखनमा राजेन्द्रमानको उज्वल भविष्य देखिएको र उहाँका लेखनले पर्यटन र संस्कृति क्षेत्रमा योगदान दिने बताउनुभएको थियो ।