कात्तिक १९, रौतहट । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमसिसी सम्झौता राष्ट्रघाती भएको जिकिर गर्दै त्यसलाई कुनैपनि हालतमा पास गर्न दिनु नहुने बताउनुभएको छ । दीपावली तथा छठको अवसरमा गृह जिल्ला रौतहटको फतुवा विजयपुर नगरपालिका–३, टेंग्राहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै साहले एमसीसी सम्झौता देश र जनताको लागि हितमा नरहेको र संसदबाट अनुमोदन गरेर यसलाई लागु गरे देशमा द्वन्द्व निम्तिने जिकिर गर्नुभयो ।

माओवादी केन्द्र र एकीकृत समाजवादी समेतको सहयोगमा काँग्रेस नेतृत्वको सरकारले एमसीसी पास गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उहाँले यसविरुद्ध जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तपाईहरू हेर्न सक्नुहुन्छ अहिले देशमा एमसीसी सम्झौता गर्नका लागि सरकार लालायित छ । केही अर्ब पैसा अनुदानको नाममा देशमा द्वन्द्व निम्त्याउन राष्ट्रघाती एमसीसी सम्झौता गर्न कांग्रेस नेतृत्वको सरकार विदेशीसामु नतमस्तक छ । कांग्रेस मात्र होइन कम्युनिष्ट खोल ओढेका माधव र प्रचण्ड र जसपा र सा पार्टीका उपेन्द्र यादव पनि एमसीसी सम्झौता पारित गर्न मतियार बनेका छन् ।’