• २०८३ बैशाख १० गते बिहिवार

मुख्यमन्त्री केसीद्वारा अक्सिजन प्लान्टको उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा अक्सिजन प्लान्टको उद्घाटन गर्र्नुभएको छ । रोल्पा अस्पतालमा आज आयोजित एक कर्यक्रममा उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिएकोहो ।

सङ्घीय सरकारको रु ७५ लाख बजेटबाट जडान गरिएको उक्त प्लान्टले दैनिक २५ भन्दाबढी सिलिण्डर उत्पादन गर्नसक्ने क्षमता रहेको छ । जिल्लामा खपत भएर बचेको अक्सिजन जिल्ला बाहिर निर्यात गर्न सकिने बताइएको छ । अक्सिजन प्लान्ट जडानसँगै रोल्पाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मुख्यमन्त्री केसीले बताउनुभयो । “अब अक्सिजनको अभावमा रोल्पालीले ज्यान गुमाउन पर्ने छैन”, मुख्यमन्त्री केसीले भन्नुभयो ।

जिल्लाको स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपलब्ध गराएका दरबन्दीलाई निरन्तरता दिइने मुख्यमन्त्री केसीको भनाइ छ । स्वास्थ्य सेवामा पछाडि परेको रोल्पामा अन्य सेवा पनि निरन्तर थप गर्न पहल गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री केसीले आजै सीता महरा स्मृति पार्ककोसमेत उद्घाटन गर्नुभयो । पूर्वसभामुख कृष्णबहादुर महराको पत्नी सीताको स्मृतिमा रोल्पा नगरपालिका–१ मेवाङमा उक्त पार्क बनाइएको हो ।

पार्क उद्घाटन कार्यक्रममा मुख्यमन्त्री केसीले सीताले बालबच्चा बोकेर जनयुद्धमा सहभागी भएको स्मरण गर्नुभयो । तत्कालीन राज्यसत्ताले घरमा बस्न नदिएपछि महराको सपरिवार जनयुद्धमा सहभागी भएको थियो । सीता महराको अघिल्लो वर्ष निधन भएको थियो ।

सीता महरा स्मृति फाउण्डेशनद्वारा आयोजित पार्क उद्घाटन कार्यक्रमको सभापतित्व सीताका पतिसमेत रहनुभएका पूर्वसभामुख महराले गर्नुभएको थियो । उक्त पार्क सङ्घीय सरकारको रु ३० लाख बजेटमा निर्माण गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस