कात्तिक १५, भक्तपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलले भक्तपुरको विकास आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ भक्तपुरले आज आयोजना गरेको मन्त्री भँडेललाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले विकासमा पछाडि परेको ठाउँको मुहार फेर्ने बताउनु भएको हो ।
चाँगुनारायण नगरपालिका क्षेत्र विकासमा पछाडि परेको भन्दै चुनावमा जनताप्रति गरेको प्रतिबद्धता पूरा गर्ने समय आएको तथा आठ वर्षसम्म बन्न नसकेको भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गर्न आफ्नो प्रयास सफल बनाएरै छाड्ने बताउनुभयो । उहाँले जनताको अपेक्षालाई पूर्णता दिने बताउँदै कांग्रेसप्रति जनताको विश्वास अझै बढ्ने गरी काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति जीवन खत्रीले आफ्नो क्षेत्रले पहिलोपटक मन्त्री पाएको बताउँदै अब चाँगुनारायणले विकासको मुहार फेर्ने भनाइ राख्नुभयो ।