कात्तिक, १३ काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्बाङले एमालेका कारण संसद बैठक एक सेकेण्ड पनि अवरुद्ध नभएको दाबी गरेका छन्।
शनिबार एमाले संसदीय दलको बैठकमा उनले एमालेका कारण संसद्को कुनै काम नरोकिएको प्रष्टीकरण दिएका छन्।
‘हाम्रा कारणले राज्य र संसद्का कुनै काम रोकिएका छैन। हामी उठिसक्दा सभामुखले काम अगाडि बढाइसक्नुभएको हुन्छ‚ ’नेम्बाङले भने‚ ‘हाम्रो अवरोधले केही पनि भएका छैन। म भन्न चाहन्छु- हाम्रा कारणले एक सेकेण्ड पनि सदन रोकिएको छैन।’
पूर्वसभामुखसमेत रहेका नेम्बाङले एमालेले पार्टीका १४ जना सांसदमाथि कारबाही गर्न सिफारिस गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई रोकेर विधि, पद्धति र संविधानभन्दा बाहिर गएको आरोप लगाएका छन्।
‘हामीले पठाएका पत्र सभामुखज्यूले १३ दिन अध्ययन गरिराख्नु भयो। अब अध्ययन गरेको कुरालाई नराम्रो भन्नु पनि भएन। अध्ययनपछि केही गरिदिएको भए त हुन्थ्यो नि’ ‚ उनले भने‚ ‘तर, उहाँले १३ दिनपछि नयाँ पार्टी गठन भइसकेको कारबाही गर्नु नपर्ने निर्णय गर्नुभयो।’
उपनेता नेम्बाङले एमालेले १४ जना सांसदमाथि कारबाही गरेको पत्र राष्ट्रपतिबाट अध्यादेश जारी हुनुअघि नै निर्वाचन आयोग र संसद् सचिवालयमा पुगेको पनि त्यसलाई बेवास्ता गरी आफ्नो पार्टीसँग सल्लाहबिना संसद् अन्त्य गरेर अध्यादेश जारी गरिएको दाबी गरे।
यस्तै उनले सरकार र सदनले अहिलेसम्म सिन्को नभाँचेको आरोप लगाए। ८८ दिनसम्म सरकार गठन गर्न समय लगाउने सरकारले कुनै काम गर्न नसक्ने उनले बताए।