कात्तिक १३, गोरखा । गोरखाको लुइँटेलमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयलाई कम्युटर सहयोग गरिएको छ । पालुङटार नगरपालिका वडा नं ४ लुइँटेलमा रहेको उक्त विद्यालयलाई आज इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरेको हो ।
विद्यालयका पूर्वविद्यार्थी एवं युनिभर्सिटी अफ मिनिसोटा मोरिसका अर्थशास्त्रका सह–प्राध्यापक डा सतिशचन्द्र देवकोटाको सक्रियतामा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्टक एच डेलिसी सङ्लग्न संस्था इन्गेज नेपालबाट उक्त कम्युटर सहयोग गरिएको हो । कम्युटर विद्यालयका पूर्वविद्यार्थी एवं भूगर्भविद् डा कृष्णचन्द्र देवकोटा र पालुङटार नगरपालिकाका नगरप्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गङ्गा सुनार र प्राचार्य माधवराज देवकोटालाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख कँडेलले अमरज्योति जनता माविलाई नगरपालिकाको मात्र नभएर जिल्लाको नमूना विद्यालय बनाउनका लागि नगरपालिका कटिबद्ध भएर लागेको बताउनुभयो । “पालुङटार नगरपालिकालाई शिक्षाको हव निर्माणका लागि हामी लागिरहेका छौँ”, नगरप्रमुख कँडेलले भन्नुभयो । डा देवकोटाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्युटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।