कात्तिक १२, सर्लाही। गत असोज ७ गते जनकपुर पुगेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो प्रतिनिधिसभा निर्वाचन क्षेत्र धनुषा–३ मा एक महिनासम्म घुमफिर गरे । अहिले उनी पूरै तामझामका साथ सर्लाही पुगेका छन् ।

पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्यहरु अनिलकुमार झा, जितेन्द्र सोनललगायतका नेताहरु यतिखेर सर्लाहीमै केन्द्रित छन् । यसअघि दसैँको शुभकामना कार्यक्रम लिएर धनुषा क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा घुमेका महतोले धनुषाबाट पुनः चुनाव जित्न सकिन्छ कि सकिँदैन भन्ने हिसाब–किताब निकालिरहेका छन् । उनले सो क्षेत्रमा रहेका हरेक शक्तिपीठमा पुगेर दसैँका अवसरमा भएका हरेक कार्यक्रममा सहभागिता जनाए । एक महिनासम्म लगातार आफ्नो निर्वाचन क्षेत्रमा घुमेका उनी कात्तिक ६ गते काठमाडौैं फर्किए ।
आफ्नो क्षेत्रमा उनले कात्तिक १० गतेसम्मका लागि कार्यक्रम तय गरेका थिए । तर उनी ६ गते नै काठमाडौँ फर्के । उनका स्वकीय सचिव किशोर गुरु भन्छन्, ‘कात्तिक १० गतेसम्म उहाँको कार्यक्रम थियो, तर वर्षाका कारण कार्यक्रमहरु प्रभावित भएपछि उहाँ काठमाडौँ फर्किनु भएको हो ।
हाल महतो आफ्नो गृहजिल्ला सर्लाही पुगेका छन् । पहिलो संविधानसभा चुनावमा उनी सर्लाही क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनी त्यहाँ पराजित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी धनुषा पुगेका थिए । धनुषामा काँग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै उनले चर्चा कमाएका थिए ।