• २०८३ बैशाख ११ गते शुक्रवार

वीरगञ्जमा  बर्थिङ सेन्टरको शिलान्यास

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५,वीरगञ्ज।वीरगञ्ज महानगरपालिकामा दुईवटा बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ । वीरगञ्ज-१७ अलौं र वडा नं २६ सुगौली विर्तामा बन्‍न लागेको बर्थिङ सेन्टरको शिलान्यास गरिएको हो ।

नगरप्रमुख विजय कुमार सरावगीले मंगलबार दुवै बर्थिङ सेन्टरको शिलान्यास गरेका छन् । नगर क्षेत्रमा स्वास्थ्य संस्थामा प्रसूती गराउन प्रोत्साहन गर्नुको साथै सुरक्षित प्रसूती सेवा प्रदान गर्ने उद्देश्यले बर्थिङ सेन्टर बनाउन लागिएको नगर प्रमुख सरावगीले जानकारी दिए ।
वडा नं २६ का वडा अध्यक्ष शम्भु मिश्राले बर्थिङ सेन्टर तयारभएपछि वडाबाटै सामान्य प्रसूती सेवा प्रदान गर्न सकिने बताए । ‘ गाउँघरमा सुत्केरी ब्यथाले च्यापेपछि रातबिरात वीरगञ्ज लैजानुपर्ने अवस्था छ ।’ उनले भने ‘ राति एम्बुलेन्स खोजेर गर्भवती महिलालाई अस्पताल पुर्‍याउन गाह्रै हुन्छ, वडामै बर्थिङ सेन्टर तयार भएपछि यो समस्याबाट छुटकारा मिल्छ ।’बर्थिङ सेन्टर तयार भएपछि आवश्यक जनशक्ति माग गरेर सञ्चालनमा ल्याउने उनको भनाइ छ । वीरगञ्ज महानगरपालिकाको पूर्वाधार विकास शाखाका अनुसार राष्ट्रिय योजना आयोगको विशेष अनुदानबाट नगर क्षेत्रमा पाँचवटा बर्थिङ सेन्टर बनाउन लागिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस