जेठ २७,काठमान्डौ । बाँके जिल्ला राप्तिसोनारी गाँउपालिका वडा नं १ स्थित लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुनालाई अख्तियार अनुसुन्धान आयोग नेपालगन्जको टोलीले पक्राउ गरेको छ ।
सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिइ गएको टोलीले निजहरू टिकाराम कामी र दिपक खुनालाई सेवाग्राहीबाट रू.पाँच लाख (५,००,०००) घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अध्यक्ष टिकाराम कामीले उक्त सामुदायिक वन उपभोक्ता समूहबाट साल, सिसौलगायत जातका काठ र दाउरा लिलाम बिक्रीको लागि आह्वान भएको टेन्डर फर्म दर्ता गरिदिने र टेन्डर पारी काठसमेत मिलाईदिने प्रयोजनको लागि घुस रकम माग गरी लिई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकोले निजअध्यक्ष टिकाराम कामीलाई बिगो रू पाँच लाख (५,००,०००) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियार अनुसुन्धान आयोगका सहायक प्रवक्ता मदन कोइरालाले बताउनु भएको छ ।