कात्तिक ८,काठमाडौं । ‘गुटबन्दी गर्नेलाई पार्टीले अब सिधै कारबाही गर्छ, चाहे जोसुकै होस्, पार्टीको विधि र पद्धतिअनुसार पठाइएको सर्कुलर अनुरूप संगठन निर्माण गर्नुस्, नत्र कारबाही भोग्नुस् । गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदैछ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा आइतबार दिएको निर्देशनात्मक अभिव्यक्ति हो यो । गुटबन्दीले गर्दा पटक पटक विवादमा रुमल्लिने गरेको प्रदेश २ को पार्टी संगठनका बारेमा अध्यक्ष प्रचण्डले त्यहाँका पदाधिकारी तथा केन्द्रीय सदस्यसँग दुई दिन छलफल गरे ।

छलफलको अन्तिम दिन आइतबार अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्दै प्रदेश २ मा पार्टीभित्र धेरै गुटबन्दी भएको बताए । उनले भने, ‘गुटबन्दीले धेरै बदनाम पनि भयो, ज–जसले गुटबन्दी गरिरहेका छन्, आजैको मितिबाट त्यसलाई त्याग गरी पार्टीलाई विधि र पद्धतिबाट सञ्चालन गर्नुस् ।’ प्रदेश कमिटीले गरेको निर्णय र निर्देशन अनुसार प्रदेशमा माओवादी संगठन अगाडि बढ्ने भन्दै अध्यक्ष प्रचण्डले कुनै पनि नेता प्रदेशमा जाँदा प्रदेश कमिटीलाई जानकारी गराएर मात्र जान निर्देशनसमेत दिए ।
‘केन्द्रबाट कुनै पनि नेता कार्यक्रम लिएर प्रदेश २ मा जाँदा प्रदेश समितिलाई जानकारी गराउनुपर्छ, प्रदेश समितिबाट हुने कार्यक्रमका आधारमा सहभागी हुनुपर्छ,’ उनले भने, ‘प्रदेश २ का नेताहरू आफूखुसी गएर संगठन बनाउने, सदस्यता बाँड्ने, पार्टी प्रवेश गराउने, उद्घाटन गर्ने, गुटगत बैठकहरू गर्ने गरेको पाइन्छ, अब आइन्दा त्यस्तो काम गरेको पाइएमा कारवाहीको भागिदार बन्नुपर्छ ।
प्रचण्डले यस्तो निर्देशन दिइरहँदा मातृका यादव भने बैठकमा उपस्थित थिएनन् । प्रभु साहले माओवादी केन्द्र छाडेपछि मधेसमा नारायणकाजी श्रेष्ठ र मातृका यादवले गुट सञ्चालन गरिरहेको आरोप लाग्दै आएको छ । यसबारे बैठकमा कुरा पनि उठेको स्रोतको भनाइ छ । नारायणकाजी श्रेष्ठले पूर्वजनमोर्चालाई संरक्षण गर्छन् भने मातृका यादवले आफ्ना गुटका खासगरी विगतमा माओवादीबाट अलग हुँदा उनलाई साथ दिएका नेता तथा कार्यकर्तालाई संरक्षण गरिरहेका छन् ।
छलफलमा अधिकांश नेताले प्रदेश २ मा गुटबन्दी भएको गुनासो गरेको केन्द्रीय सदस्य रामकुमार शर्माले बताए । प्रदेश २ मा दुईटा गुट चलिरहेको र कुनै पनि गुटमा नभएका नेता तथा कार्यकर्ताको अस्तित्व नै संकटमा परेको गुनासो आफूले बैठकमा राखेको उनको भनाइ छ । बैठकमा सहभागी अर्का एक नेताका अनुसार नारायणकाजी श्रेष्ठ र मातृका यादवले एक अर्कालाई गुटबन्दी गरेको आरोप बैठकमै लगाएका थिए । मातृका यादवले प्रदेश २ मा नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले पूर्वजनमोर्चाको गुट बनाउने गरेको आरोप लगाएका थिए ।
नारायणकाजी र मातृका यादवले चलाएका दुईटा गुटमध्ये कुनै गुटमा आफू नरहेको बताउँदै उनले आफूजस्ता थुप्रै नेता कुनै गुटमा नरहेको बताएका थिए । आफूजस्ता गुटविहीनका बारेमा पार्टीले सोच्नुपर्नेमा उनले नेतृत्वको ध्यानाकर्षण गराए । अर्का केन्द्रीय सदस्य रामेश्वर राय यादवले प्रदेश २ मा गुट सञ्चालन भइरहेको कुरा पार्टी अध्यक्ष प्रचण्डले पनि महसुस गरेको बताए । त्यहीअनुसार आज अध्यक्ष प्रचण्डले निर्देशनात्मक धारणा राखेको उनको भनाइ छ ।
छलफलको अधिकांश समय प्रदेश २ मा विद्यमान गुटबन्दीमै केन्द्रित रहेको उनले रातोपाटीलाई बताए । प्रदेश २ मा देखिएको गुटबन्दी अन्त्य गर्न अध्यक्ष प्रचण्डलाई नेताहरूले आग्रह गरेको जानकारीसमेत उनले दिए । बैठकमा सहभागी अर्का एक नेताका अनुसार नारायणकाजी श्रेष्ठ र मातृका यादवले एक अर्कालाई गुटबन्दी गरेको आरोप बैठकमै लगाएका थिए । मातृका यादवले प्रदेश २ मा नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले पूर्वजनमोर्चाको गुट बनाउने गरेको आरोप लगाएका थिए । स्रोतका अनुसार यादवले जहाँ पनि पूर्व जनमोर्चाका नेताहरूलाई सिफारिस गर्ने काम भइरहेको, माओवादी पार्टी र जनमोर्चाबीच एकीकरण भएको यत्रो दिन भइसक्दा पनि अझै जनमोर्चा जीवित रहेको र भागबण्डा पाइरहेको चर्चा गरेका थिए ।
यसरी गुटबन्दी बनाउन बन्द नगरे आफूले पनि समानान्तर कमिटी बनाएर अगाडि बढ्ने चेतावनीसमेत उनले दिएको स्रोत बताउँछ । ‘पूर्व जनमोर्चालाई मात्र संगठनमा राख्ने हो भने बाँकी माओवादी केन्द्रका नेताहरूले के गर्ने भन्ने पनि छिनोफानो हुनुपर्यो या त्यहाँ आरक्षित गर्नुपर्यो,’ यादवको भनाइ थियो ।
जवाफमा नारायणकाजी श्रेष्ठले आफूबाट गुटबन्दी नभएको बताएका थिए । प्रदेश २ मा मातृका यादवले नै गुटबन्दी गरिरहेको छर्लङ्ग भएको भन्दै उनले यसमा लुकाउने छिपाउने कुरा केही नरहेको बताएका थिए । उनले पार्टीमा पूर्व जनमोर्चा नरहेको र सबै माओवादी भइसकेको पनि प्रष्ट पारेका थिए । पार्टीमा जसले जति योगदान दिएका छन्, त्यसको आधारमा मूल्याङ्कन गरेर पार्टीले जिम्मेवारी दिने गरेको उनको भनाइ थियो ।
स्रोतका अनुसार मातृका यादवले गुटबन्दी गरेको भन्दै गिरिराजमणि पोखरेल, विश्वनाथ साहलगायतका नेताहरूले पनि आरोप लगाएका थिए । त्यस्तै मातृका यादवको पक्षबाट भरत साह, जगत यादवलगायतका नेताहरूले नारायणकाजी श्रेष्ठले गुटबन्दी गरेको आरोप लगाएका थिए ।