असोज १२, काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले विश्वव्यापी मानव समुदायका लागि चुनौति बनेको कोभिड– १९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताएका छन्।
संयुक्त राष्ट्र संघको ७६ औ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज विहान संबोधन गर्दै परराष्ट्रमन्त्री खड्काले उक्त कुरा बताएका हुन्।
उनले नेपाली जनतालाई कोरोना संक्रमणवाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको महासभामा जानकारी गराए।
सबै नेपाली जनतालाई आगामी ६ महिनाभित्र खोप लगाईसक्ने लक्ष्यकासाथ नेपाल सरकारले कार्ययोजना अघि बढाएको पनि मन्त्री खडकाले बताए।
कोभिड–१९ को संकट व्यवस्थापन र खोपको व्यापकताका लागि राष्ट्र संघले देखाएको चासो र प्राथमिकताको परराष्ट्रमन्त्री खड्काले प्रसंशा गर्नुभयो ।
नेपालले विश्वशान्ति , सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाईचाराको नीति अवलम्वन गरेको स्पष्ट गर्दै मन्त्री खड्काले विश्वका विभिन्न मुलुकको शान्ति स्थापना कार्यमा नेपालको योगदान रहेको पनि चर्चा गरे।
आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको बताए। आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको मन्त्री खड्काले स्पष्ट पारे।
अफ्गानिस्तान,लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने विश्वास नेपालको रहेको खडकाले बताए।
नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटरभन्दा अग्ला धेरै हिमाल भएकाले पर्यटन गन्तव्यको एक अनुपम देश भएको पनि परराष्ट्रमन्त्री खड्काले संबोधनका क्रममा उल्लेख गरे। प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनको असर न्यूनिकरणमा नेपालले प्राथमिकता दिएको मन्त्री खड्काले जानकारी दिए।
परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा हाल अमेरीकाको न्यूयोर्कमा छन्।