वि.सं. २०७८ आश्विन ०८ गते शुक्रवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर २४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलागा), नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे, चन्द्रास्त : बिहान ०८:५५ बजे र चन्द्रोदय : बेलुका ०८:२८ बजे, आश्विन कृष्णपक्षको तृतीया तिथि, बिहान ०७:१७ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, अश्विनी नक्षत्र, बिहान ०९:०० बजेसम्म, त्यसपछि भरिणी नक्षत्र
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्द्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । होसियारीसाथ काम लिनुपर्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सचेत रहेर काम गर्नुपर्ने दिन छ । ईर्ष्या गर्नेहरूले सताउन सक्छन् । साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुनसक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइने छ । परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । कडा मिहिनेत र लगनशीलताका कारण रोकिएका काम समेत सम्पादन हुनेछन् । प्रयास गर्दा नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा चिन्ता, शङ्का र छटपटी उब्जने छ । पिताको सेवासुश्रुषामा समय दिनु राम्रो हुनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । कठिन चुनौती सामना गर्नुपर्ला । नयाँ काममा हात हाल्नु राम्रो हुँदैन, तर हिम्मत र साहसका साथ संयम भई कर्म गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । माङ्गलिक कार्य सम्पन्न गर्दा खर्चबर्चमा नियन्त्रण गर्न सकिंदैन । फजुलको यात्रा र घुमघामको सम्भावना छ । गरेका कामको सर्वत्र आलोचना हुनसक्छ । मनमा निराशा र वैराग्यका बादल मँडारिने सङ्केत छ, तर आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला । अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँग आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्नसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्नेछन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पुरानो समस्यालाई निराकरण गरी अघि बढ्न प्रेरणा प्राप्त हुनेछ । सन्तति र भाइबहिनीका समस्यामा केन्द्रित हुनुपर्छ । सामाजिक कामबाट जस पाउन सकिंदैन । त्यसो त कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । यद्यपि आत्मबल र हिम्मतले काम गर्दा आँटेका काम पनि सजिलै सम्पन्न हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राम्रो दिन छैन । बनिसकेको काम बिग्रन सक्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । काममा लगानीको समय छ । आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यवसायको सन्दर्भमा टाढाको यात्राको सम्भावना देखिन्छ । सोचेको काम बनाउन अनायासै खर्च बढाउनु पर्ने हुनसक्छ । वैदेशिक यात्रा वा कामकाजबाट भनेजस्तो फाइदा लिन सकिने छैन । जतिबेला पनि मनमा डर र त्रासको निवास हुने भय छ । मनको निराशाभाव र आत्मबलको कमीले गर्नै पर्ने काममा बाधा पुग्नसक्छ ।