असोज ३, काठमाडौं । नेपाली काँग्रेसको आगामी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका नेता विश्व प्रकाश शर्माले आफ्ना अवधारणा सार्वजनिक गरेका छन् । संविधान दिवसको दिन पारेर शर्माले आफ्ना अवधारणा सार्वजनिक गरेका हुन् ।

शर्माले २४ बुँदा समेटेर सार्वजनिक गरेका अवधारणामा राजनीतिक छविमा पुनर्ताजगीको आकांक्षादेखि राजनीतिले अव क्रान्तिको भाषा परिवर्तन गर्नुपर्ने सम्म रहेका छन् । ‘राजनीतिक परिवर्तनको नेतृत्व दलहरुले गरे, राजनीतिमा परिवर्तन दलहरूको भित्रको परिवर्तनबाट प्रारम्भ हुन्छ । छलफलका प्रस्तावित यि बुँदासँग राजनीतिमा परिवर्तन गर्ने अन्य कयौ विषय तथा सवालहरू हुन सक्दछन् र छन्’, शर्माले आफ्नो अवधारणामा भनेका छन्, ‘जसलाई बहसको केन्द्रमा थप जोड्दै जानु जरुरी छ, ताकी बहसको कारखानाबाट रुपान्तरणको नविन औजारको उत्पादन गर्न सकियोस् ।
त्यस्तै उनले राजनीतिमा परिवर्तनको एजेण्डा उठाउनुको अर्थ हो, मूल सङ्लो त समग्र सङ्लो भन्ने मान्यतालाई अघि सारेका छन् । ‘संसारमा जतिसुकै सुन्दर राजनीतिक प्रणाली किन नहोस जनताको हित र देशको प्रगती प्रणाली मात्रैमा होईन त्यसका सञ्चालकहरुको प्रवृत्तिमा बढी निर्भर हुन्छ । त्यसैले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुँदै गर्दा म सबैको ध्यान यसतर्फ आकर्षित गर्न चाहन्छु । नेपाली कांग्रेसका सदस्यलाई मात्र होईन यो हरेक राजनीतिक दलको सदस्यका लागि पनि हो’, शर्माले भनेका छन् ।