असोज ३, काठमाडौँ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले दिएका मेडल अस्वीकार गर्न न्यायाधीशहरुलाई आग्रह गरेका छन् । प्रमुख विपक्षी नेकपा एमालेले केपी शर्मा ओलीको सरकारविरुद्ध मुद्दा हाल्ने र फैसला सुनाउने न्यायाधीशलाई मानपदवी दिइएको भन्दै यसले राम्रो सन्देश नगएको भन्दै नेता नेम्वाङले मेडल अस्वीकार गर्न न्यायाधीशहरुलाई आग्रह गरे ।

आज संविधान दिवसको अवसरमा नेकपा एमालेले गरेको कार्यक्रममा पूर्वसभामुख नेम्वाङले भने, ‘हाम्रो पार्टीको सरकारविरुद्ध मुद्दा लगाउने साथीहरुले मेडल पाउनु भएछ । मुद्दामा भूमिका निर्वाह गर्नुहुने कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ । अरु ढंगले भूमिका निर्वाह गर्नेहरुले पाउनु भएछ । मुद्दाको फैसला गर्ने सवैधानिक इजलासमा बस्नु भएको न्यायाधीशहरुले पाउनुभएको छ ।’ ‘यस्तै भएको हो भनेर म टिप्पणी गर्दिन । तर पारि चितुवा करायो, वारि सिंगारी हरायो भने जस्तै कार्य भयो,’ उनले भने, ‘उहाँहरुलाई न्यायाधीशका रुपमा आदर गर्छु । त्यसैले उहाँहरुलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तरुन्तै यो दिइएको मेडल हामी अस्वीकार गर्छौं भनेर घोषणा गरिदिनुस् ।’
संविधान दिवसको अवसरमा सरकारले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार पदक प्रदान गरेको छ, जसमा ५ पुस २०७७ को प्रतिनिधिसभा संसद विघटन बदर गर्ने संवैधानिक इजलासमा रहेका पाँच जना न्यायाधीश परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाउज्ज्वल राष्ट्रद्वीप, न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप र न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिइएको छ ।