• २०८३ बैशाख १७ गते बिहिवार

चलचित्र ‘रोल नं १’ को टिजर: गरिब परिवारको शैक्षिक बाध्यताको कथा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १७, काठमाडौं । विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा टिजरमा देखाइएको छ । आफ्नो भाग त्यागेर छोराको खुसीका लागि बाबुले देख्ने सपना समेटेको टिजरले उक्त सपना पूरा नहुँदाको निराशा प्रस्तुत गरेको छ ।

पढ्नका लागि छात्रवृत्तिकै भर पर्नुपर्ने बाध्यता र त्यो छिनिँदाको दुःखलाई ट्रेलरले मार्मिक ढंगले समेटेको छ । समाजमा इज्जतका लागि पनि पढाइमा अब्बल हुनै पर्ने बाध्यताको कसीभित्र रहेको समाज कसरी सरकारी छात्रवृत्तिबाट बञ्चित भइरहेको छ भन्ने यथार्थ टिजरमा समेटिएको छ ।

छात्रवृत्ति पाउन कक्षामा प्रथम हुनै पर्ने सरकारी नियमले कसरी आम गरिब समुदाय पढाइबाट बञ्चित भइरहेको छ भन्ने तीतो सत्यलाई टिजरले देखाउने प्रयास गरेको छ । आफ्नो इच्छा, आकांक्षा र भरोसा कसरी छोरामा परिवारले बोकाउँछ ? तर, छोराले जतिसुकै प्रयास गरे पनि पढ्न नसक्दा उसको बालमनोविज्ञानमा कस्तो असर गर्छ भन्ने वास्तविकतालाई टिजरले उजागर गरेको छ ।

टिजरले यो चलचित्रले अधिकांश गरिब नेपालीको कथा भन्ने संकेत गरेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता पौडेलको सिनेमा ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको छ । ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शन हुँदैछ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका हुन् । चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।

निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस