असोज २, काठमाडौं । काठमाडौंको फोहोर विसर्जनका लागि तयार पारिँदै आएको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् ।
सरकारी निकायहरुले बञ्चरेडाँडामा फोहोर विसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न लागिएको भन्दै स्थानीयहरुले आपत्ति जनाएका हुन् । स्थानीय सनत उप्रेतीले भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीयहरु एकजुट हुने बताए।
स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, ७ सय स्थानीय घरहरूको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकार सम्पन्न समिति बनाइनु पर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, कोल्पुखोला न्यूनीकरण गर्नुपर्ने लगायतका माग पूरा नहुन्जेल बञ्चरेडाँडामा फोहोर खस्न नदिने बताए ।
‘यो समस्या सरकारको पनि हो, हाम्रो पनि र सबैको हो, काठमाडौं हामीले पनि सफा गर्नुपर्छ, हामी पनि सभ्य नागरिक बन्नुपर्छ, हामी प्रभावित क्षेत्रका जनताको ५ वटा माग पूरा गरेपछि मात्रै फोहोर खस्न दिन्छौँ, स्थानीय उप्रेतीले भने।
अर्का स्थानीय पुष्कर उप्रेतीले सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै आपत्ति जनाए। उनले तत्काल यसले असर नगरेपनि पछि गएर स्थानीयहरुलाई धेरै असहज परिस्थिती सिर्जना हुने उनको भनाइ छ। उनले स्थानीयसँग सरकारले गरेको कागजी सम्झौता कार्यान्वयन हुन नसकेको बताए ।
शहरी विकास तथा भवन निर्माण विभागका ल्याण्डफिल साइटका सुपरभाइजर ध्रुव प्रसाद धिमालले फोहोर फाल्नका लागि सेल वान र सेल टू भन्ने दुईवटा स्थान रहेको भन्दै सेल वान मात्र तयार भएको बताए।
विश्व सरसफाइ अभियन्ता राजमान मानवले फोहोरको कारण नेपालको छविमा अन्तर्राष्ट्रिय स्तरमै दाग लागेको बताए। उनले सुन्दर उपत्यकालाई व्यवहार, सोच र राज्यको गैरजिम्मेवारीले काठमाडौं फोहोर भइरहेको बताए ।
सरकारले काठमाडौंको फाहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा बिसर्जन गरिरहे पनि त्यहाँ राख्ने स्थान नहुँदा अर्को स्थानका रुपमा बञ्चरेडाँडालाई विसर्जनको गन्तव्य बनाएको छ । तर आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहरुले त्यसको बिरोध गरिरहेका छन् ।
स्थानीयहरुले आफूसँग भएका ५ बुँदे माग लागू भएमात्र फोहोर फाल्न दिने नत्र सरकारको प्रतिवाद गर्न पछि नहट्ने चेतावनी दिएका छन् । फोहोर फाल्न सक्नेगरी र स्थानीयलाई कुनै पनि समस्या सिर्जना नहुने गरी आवश्यक संरचना बनाइसकेपछि मात्रै फोहोर बिसर्जन गर्न दिइने स्थानीयको भनाइ छ ।