भदौ २७, झापा । अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गस्थित एक घरमा ग्यास सिलिन्डर चुहावट भई आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन्।
रोमनाथ खनालको इँटाको वालमाथि जस्ताको छाना भएको एक तले घरमा शनिवार साँझ साढे ६ बजे आगलागी भएको प्रहरी कार्यालय झापाले जनाएको छ।
नयाँ ग्यास सिलिन्डर फेर्ने क्रममा ग्यास चुहावट भई आगलागी हुँदा घरधनी ४२ वर्षीय रोमनाथ, उनकी श्रीमती ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पंकज घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। रोमनाथको शरीर जल्दा अवस्था गम्भीर रहेको छ। श्रीमती र छोराको पनि शरीर जलेको छ, तर उनीहरूको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ।
यता घरमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय बिर्तामोड, प्रहरी चौकी शनिश्चरे र स्थानीयवासीको सहयोगमा बेलुका साढे ७ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाइएको छ।