भदौ २४, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारबीच भेटवार्ता सकिएको छ। ओलीलाई भेट्न बिहीबार दिउँसो दुई बजे बालकोटस्थित निवासमा सुमारसहितको प्रतिनिधिमण्डल पुगेको थियो।

दुई प्रतिनिधिमण्डलबीच एमसीसीको विषयमा छलफल भएको हो। बालकोट स्रोतका अनुसार भेटमा एमालेले पार्टीमा छलफल गरेपछि एमसीसीको विषयलाई टुंगो लगाउने बताएको छ। सुमारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सैन्य गठबन्धनबीच सम्बन्ध नरहेको जानकारी गराइन्। उनले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको बताइन्। एमसीसीको टोली बालकोटबाट फर्किएको छ। सुमारसहितको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा अध्यक्ष ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी थिए।