भदौ ९, डोल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २५ हजार घुस लिएको अभियोग लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुुसलमानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार दाँते ओखरको बिरुवा उत्पादन गरेबापत किसानलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नका लागि घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतबाट गएको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा केही समय पहिले पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई, स्याउ जोन, डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमानले अनुदानको रकम भुक्तानी गरिदिने भनी रु.२५,०००।- घुस/रिसवत माग गरी लिने खाने बदनियतपूर्ण मनसाय राखी सेवाग्राहीसँग घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज हश्मुल्लाह मुसलमानलाई बिगो रु.२५,०००।– (पच्चीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।आयोगले बिगोअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।