साउन, २९ पर्सा । पर्साबाट अवैध पेस्तोल र चोरीका मोटरसाइकलसहित पाँचजनालाई पक्राउ परेको छ।
वीरगन्ज महानगरपालिका–३० लालपर्सा प्रसोतिपुरका २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेललाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। उनीहरुको साथबाट बा।४२ प ५२६३, ना १६ प ३३६७, ना १४ प ८४ र ग १ प ७६९४ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
बिहीबार साँझ चोरीका मोटरसाइकल बिक्री गर्न लागेका सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब निरीक्षक खनालले बताए। मोटरसाइकल आकाशको घर अगाडि लुकाएर राखिएको अवस्थामा भेटिएको उनको भनाइ छ।
यस्तै, बिहीबार साँझ वीरगन्ज–१५ ब्रम्हचोकस्थित एक होटलबाट अवैध पेस्तोलसहित वीरगन्ज–१२ का ३५ वर्षीय अनिल साह, पकाहामैनपुर गाउँपालिका–७ का ४० वर्षीय विजयकुमार पटेल र धरान नगरपालिका–१५ सुनसरीका ३२ वर्षीय रवि पौडेललाई नियन्त्रणमा लिइएको छ।
पेस्तोल किनबेच गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक खनालले बताए।