• २०८३ मङ्सिर ५ गते शुक्रवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार ३१,काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१ बगर बस्ने ४९ वर्षीय अर्जुन कुमार गुरुङलाई नियन्त्रित लागूऔषध ६ सय ७४ एम्पुल बुप्रिनर्फिन ईन्जेक्सन, ६ सय ७० एम्पुल डाइजेपाम ईन्जक्सन, ६ सय ७० एम्पुल फेनारगन ईन्जेक्सन र नगद ५ लाख २१ हजार २ सय रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले पोखराका नगरक्षेत्रका विभिन्न स्थानमा अवैध लागूऔषध खरिद, विक्री तथा ओसारपसार र सञ्चय समेत गरी कारोबार गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा कोठामा सुटकेसभित्र लुकाई राखेको उक्त लागूऔषध र उक्त नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ पल्टास्थित सडकबाट १ हजार ३ सय ३० क्याप्सुल नियन्त्रित लागूऔषध ट्रमाडोल हाइड्रोक्लोराइड, ३ थान मोबाइल र नगद १४ हजार २ सय रुपैयाँ सहित सोही नगरपालिका(३ झण्डीनगर बस्ने ३० वर्षीय रियाज अहमद लगायत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ ब्रदर्स चोक बस्ने ४५ वर्षीय निर्मल खड्कालाई करिब १ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरीले तलासी लिने क्रममा कोठामा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उमहानगरपालिका-१५ जमुनाहबाट २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित कोहलपुर नगरपालिका(११ बस्ने २५ वर्षीय राजु थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ चवन्नी खल्लाबाट ३ ग्राम ७ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेदकोट नगरपालिका(२ बस्ने २१ वर्षीय बिजय चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय अजय चौधरी रहेका छन् । पदैल हिँडिरहेका उनीहरुलाई प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपि झिलमिलाबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर, बेलका नगरपालिका-५ घुम्ने चौरी बस्ने २६ वर्षीय पुजन भन्ने भोजराज कट्वाललाई नियन्त्रित लागूऔषध ५९ ट्याब्लेट ट्रामाडस, २० ट्याब्लेट ट्रामाडोल, ८१ ट्याब्लेट स्पास्पेन र नगद ११ हजार रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषधजन्य औषधीहरु बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस