असार २६, काठमाडौं । रुपन्देही बुटवल उपमहानगरपालिका-११ देबिनगरबाट २८ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेस सहित बाग्लुङ बडिगाड गाउँपालिका-८ बस्ने ३६ वर्षीय रोहित राना लगायत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँस्थित नमस्ते पथ केएफसी पिजा हबमा लागूऔषधको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवल र लुम्बिनी प्रदेश अनुसन्धान समूहबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध र लु.२५ प ६५४४ नम्बरको स्कुटर सहित फेला पारी पक्राउ गरेको हो ।
साथै नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-३ पिपरामौवास्थित सडकबाट नियन्त्रित लागूऔषध नोर्फिन ३ सय २० एम्पुल, फेनारगन ३ सय २० एम्पुल र डाईजेपाम ३ सय २० एम्पुल सहित सोही गाउँपालिका-६ बड्सारे बस्ने २२ वर्षीय शिव चन्द कोईरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोबरहिया र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले कोईरी सवार अनटेस्ट मोटरसाइकललाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस्तै सिन्धुली, कमलामाई नगरपालिका-९ चुरेस्थित सडकबाट करिब ६ ग्राम ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १५ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ भिमान बस्ने ३१ वर्षीय बिमल चौहान र बझाङ जयपृथ्वी नगरपालिका-१ ठेगाना भएका बलिराम सिंह ठकुरी रहेका छन् । प्रदेश नम्बर २-०२-००२ प ६७८१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१० सुकासालबाट १ ग्राम ६९ मिलिग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल सुनारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सु.प.प्र.०२-००३ प ७१९३ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै दाङ, घोराही उपमहानगरपालिका-१५ हिमाल टोलबाट २ ग्राम १ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राकेश बस्नेत र २७ वर्षीय अंकित रावत रहेका छन् । राकेशले आफ्नै घरमा लागूऔषध कारोवार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई राखेको उक्त लागूऔषध र नगद ९ हजार ८ सय रुपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
साथै रौतहट राजदेवी नगरपालिका-३२ चण्डिया गाउँबाट करिब १ केजी अवैध लागूऔषध अफिमको चोप सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर मकवानपुरगढी गाउँपालिका-२ बस्ने ३२ वर्षीय अनिल लामा र मकवानपुर बकैया गाउँपालिका-६ बस्ने ३५ वर्षीय सुकलाल वाइवा रहेका छन् । बा.६० प ५३५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी वसतपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-६ चमेना फाल्चा होटल एण्ड लजको कोठा नम्बर ११२ बाट ५६ ग्राम २ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ, १ तान डिजिटल उपकरण र ३ थान मोबाइल सहित बारा निजगढ नगरपालिका-१२ घर भई ईटहरी उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय दिपक भन्ने बीरेन्द्र राई समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त लजमा लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूह बिराटनगरबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा इटहरी उपमहानगरपालिका-४ लालीगुँरास टोल बस्ने २३ वर्षीय बिवेक खड्काको कोठाबाट २९ ग्राम ८ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र १ थान मोबाइल फेला पारी खड्कालाई समेत प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।