• २०८३ असार १६ गते मङ्गलवार

निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ सय ६८ वटा गाडी र ३ सय ६२ वटा मोटरसाइकल रहेका छन् ।

नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ९२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६१ हजार ९९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ४६ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १४ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ५ सय ९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ४५ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार १ सय २२ जनालाई सचेत गराइएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस